काठमाडौं । नआईसी एसिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालन गरेको छ । बैंकले एसटूएम सिस्टमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ ।
डिजिटल कारोबारमा ग्राहकहरूको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउन आफ्नै पूर्वाधार खडा गरेको हो ।
स्वीचको मद्दतले बैंकका पस तथा एटीएम टर्मिनलहरूमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी सुरक्षित र सरल बनाउन टेवा पुुग्ने विश्वास बैंकको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहकहरूमाझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरू पु-याउन मद्दत पुग्ने भएकाले यस किसिमको स्वीच कोषेढुंगा साबित हुने विश्वास बैंकको छ ।
बैंकले मुलुकभर तीन सय ५९ शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, एक सय सात विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा दिइरहेको छ ।