काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला नीतिगत दरहरुलाई खुकुलो बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘अवस्था जटिल भयो भन्दै एक पछि अर्को गर्दै कडाईका साथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भिर बनेको छ’, श्रेष्ठले भने, ‘बैंक वित्तीय संस्थाका नीतिगत दरहरु हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुने मात्र नभई कारोबार चलायमा न बन्दा अहिलेको समस्या टर्न सक्छ ।’ लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको श्रेष्ठको भनाई छ । पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए ।
हाल जिल्ला नगरतर्फ महासंघको उपाध्यक्ष रहेका उनले फेरि पनि सोही पदमा उम्मे्वारी दिने बताए । सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई आफुले ध्यानमा राखेर जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । यस्तै श्रेष्ठले महासंघमा आफुले धेरै काम गर्न बाँकी रहेको बताए । कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् ।