काठमाडौं । नेपाली कांग्रेसले आठ मन्त्री पाएको भएपनि शुक्रबार ८ मध्ये ४ जना मन्त्रीले मात्र शपथ लिने भएका छन् । शेखर कोइराला पक्षबाट मन्त्रीको नाम नआएपछि सभापति शेरबहादुर देउवाले ४ जना मन्त्रीको नाम मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको स्रोतले जनाएको छ।
उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङको नाम पहिलो चरणमा मन्त्रीका लागि पठाइएको हो । खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल उद्योग वा परराष्ट्रमध्ये एक हुने र गुरूङ सहरी विकास मन्त्री बन्ने स्रोतको दाबी छ। शपथअघि मन्त्रालय हेरफेर हुन सक्ने एक नेताले बताएका छन् ।पार्टीभित्र सहमति नहुँदा कांग्रेसले दुई चरणमा मन्त्रीहरू पठाउने तयारी गरेको हो।
शुक्रबार बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो। कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्नेमा कोइराला पक्षको अडान रहेको छ।