काठमाडौं । ‘समिट वुमन अफ द इयर, २०२३’ कार्यक्रम सम्पन्न भएको छ । ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार होटल सोल्टीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अभानी नेपालकी सह–संस्थापक आरुश्री शर्माले ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधि जित्न सफल भएकी छिन् । उनलाई पुरस्कारस्वरूप नगद एक लाख रुपैयाँ प्रदान गरिएको थियो । यस्तै निकिता जलानलाई नगद ५० हजार रुपैयाँसहित ‘वैद्य अर्गनाइजेसन इनोभेसन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ । ‘वुमन समिट अफ द इयर’ आयोजना गरिएको यो तेस्रो वर्ष हो । तेस्रो वार्षिक ‘वुमन समिट’का प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका थिए । उनले विजेता महिलाहरुलाई सम्मानित गरेका थिए ।
अवार्डको लागि शीर्ष ७ मा अभानी नेपाल प्रालिकी सहसंस्थापक आरुश्री शर्मा, पेटमामा नेपालकी सह–संस्थापक सीईओ निकिता जलान, आधुनिक मिथिला फोटो सपकी संस्थापक मनिषा शाह, पालिखे एण्ड श्रेष्ठ आर्किटेक्ट्स प्रालि (पीएएसए) की निर्देशक आर्किटेक्ट हेमन्तिका राज्यलक्ष्मी पालिखे, इस्टर्न नेपाल अथेन्टिक्सकी प्रोप्राइटर सिमोनी श्रेष्ठ, लुमिएर नेपालकी सह–संस्थापक स्वीकृति न्यौपाने र लुमिएर नेपालकी सहसंस्थापक दक्षता भण्डारी परेका थिए । सात जनामध्ये उत्कृष्टलाई ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधि (अवार्ड) प्रदान गरिएको थियो ।