काठमाडौं । पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा भारतीय जनता पार्टीका नेता राजु झाको हत्या गरिएको छ । राजु झामाथि शनिवार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए ।
हत्यामा प्रयोग भएको निलो रङ्गको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ । गाडीको नम्बर प्लेट सबै नक्कली रहेको बताइएको छ । राजु झामाथि गोली प्रहार गर्नेहरू यही निलो रंगको गाडीमा रहेको एक प्रहरी अधिकारीले बताएका हुन् ।
झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ । गाडी आइतबार बिहान स्टेसन जाने बाटोमा अलपत्र अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । प्रहरीले कारबाट केही बोतल रक्सी समेत बरामद गरेको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।