पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठलाई समर्थन गर्ने भएको छ । शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।
सर्वसम्मत उम्मेदवार घोषणा भएपछि श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीलाई समाधान गर्न आफू लागिपर्ने बताए । उनले उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न आफ्नो पहल रहने बताए । यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ ।