काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीले सरकारले पुँजीगत खर्चको रकम निकासी कम गरेको कारण बजारमा पर्याप्त पैसाको अभाव देखिएको बताएको हो ।
अर्थमन्त्री महतले गभर्नर अधिकारीको टोलीसँग मंगलबार अर्थतन्त्रबारे डेढ घण्टा बढी छलफल गरेका थिए । आइतबार र सोमबार निजी क्षेत्रका विभिन्न संस्थासँग छलफल गरेका अर्थमन्त्री महतले मंगलबार राष्ट्र बैंकसँग छलफल गरेका हुन् ।
निजी क्षेत्रका व्यवसायीहरुले धेरै विषय राष्ट्र बैंकसँग जोडेका कारण अर्थमन्त्री महतले उनीहरुको कुरा सुनेपछि राष्ट्र बैंकसँग वर्तमान समस्या समाधानका लागि छलफल गरेका हुन् । त्यसको जवाफमा राष्ट्र बैंकका अधिकारीहरुले अहिले काम सकिसकेका निर्माण व्यवसायीहरुलाई उनीहरुको बिलअनुसारको रकम भुक्तानी गरेमा बजारमा पैसा जाने भन्दै त्यसले तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने सुझाव दिएका थिए ।
भौतिक, सिँचाइ, सहरी विकासलगायतका पुँजीगत बजेट धेरै खर्च गर्ने मन्त्रालयहरुले भइसकेका कामको भुक्तानी माग्दै अर्थ मन्त्रालयमा फाइल पु-याए पनि अर्थले रकम निकासामा सहजीकरण गरेको छैन । सोही कारण बजारमा पैसा जानसकेको छैन । ‘भएको कामको बिलअनुसार भुक्तानी गर्ने हो भने सिमेन्ट, रड, बालुवा, गिट्टी, तारजाली, खाद्यान्नलगायतका व्यवसायमा पैसा जान्छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘पैसा चाहिन्छ भनेर सरकारले रोकेर राख्न मिल्दैन । सरकारलाई आफ्नो खर्च उठाउन धेरै विकल्प हुन्छन् । अहिले भएको पैसा भुक्तानी गर्ने हो भने त्यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ ।’
राष्ट्र बैंकले बाह्य क्षेत्रमा क्रमशः सुधार आएको भन्दै सरकारले आन्तरिक सुधारतर्फ ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिएको थियो । राष्ट्र बैंकले बजारमा पैसा गएसँगै ब्याजदरमा पनि सुधार आउने भन्दै एकै पटक सुधार गर्न नसकिने जानकारी गराएको थियो ।