काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो।
सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिका बाराको आ.व. २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडानरविस्तार गर्दा उनीहरुले टिप्पणी पेश तथा सप्टवेयर कार्यको स्वीकृत गरी १ लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गर्ने /गराउने गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ ।
उनीहरू तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९३० बमोजिम कसुरमा बिगो १ लाख ९९ हजार ८९७ रुपैयाँ कायम गरी ऐनको दफा ८ को उपदफा ९३० बमोजिम सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।