काठमाडौं । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताअनुरुप हिमाल सफाइ अभियानमा जोडिएको कम्पनीले बताएको छ ।
नेपालका हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।
यस वर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाइ गदैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ । फोहोरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै विश्वको वातावरणीय स्वास्थ्यमाथि जोखिम उत्पन्न गरिरहेको छ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको बताए ।