दोलखा,चैत १६
दोलखाको उत्तरी भेगमा रहेको कालिञ्चोक गाउँपालिकामा जंगली जनावरको शिकार गर्न खोज्दा भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ । उपचारको लागि चरीकोट ल्याइँदै गर्दा बाटोमै ज्यान गएको हो ।कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत पर्ने लापिलाङ सामुदायिक वनमा मृगको शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर कालिञ्चोक ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामीको मृत्युु भएको हो । बिहीबार कडेन हरियाली सामुदायिक वनअन्तर्गत छिरुवा खोला पुछारमा मृगको शिकार खेल्न भरुवा बन्दुकसहित साथीहरुसँग पुगेको थामीको तिघ्रामा छर्रा लागेर घाइते भएको र उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्युु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
सुरुमा जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याउँदै गर्दा मृत्यु भएको भनिए पनि मृतकको लासको अवस्था र घटना प्रकृति शंकास्पद देखिएपछि अनुसन्धानका गर्दा भरुवा बन्दुकको लागेर मृत्यु भएको पुष्टि भएको थियो ।शिवको मृत्यु भएपछि उनीसँगै गएका कालिञ्चोक गाउँपालिका वडानम्बर ९ सुन्द्रावतीका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकविर थामी, ४५ वर्षीय बाबुराम थामी र ३० वर्षीय बाबु थामीलाई नियन्त्रणमा लिएको प्रवक्ता बोहोराले जानकारी दिए ।