काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ बस्दै आएकी बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी रजनी श्रेष्ठलाई आइतबार बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
प्रवक्ता थापाका अनुसार वि.सं. २०७८ असार २५ गते प्रतिवादी रजनी श्रेष्ठले लक्ष्मी बैंक लिमिटेडबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानी–जानी जाहेरवालालाई दिएको चेक भुक्तान हुन नसकेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा २१ दिन कैद र ७५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । सो पश्चात् फरार रहेकी प्रतिवादी श्रेष्ठलाई आइतबार सीआईबीको टोलीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको प्रवक्ता थापाले बताए । पक्राउ परेकी थापालाई फैसला कार्यान्वयनको लागि आइतबार नै ललितपुर जिल्ला अदालतमा पेस गरेको जानकारी पनि प्रवक्ता थापाले दिए ।