काठमाडौँ । दाङ घर भएका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार सन्देश शर्मा पक्राउ परेका छन् । एमाले निकट विद्यार्थीका नेतासमेत रहेका शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई पक्राउ गरिएको बताएका छन् । सोही प्रकरणमा यसअघि प्रहरीले केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ ।
पीडितहरूले २०७९ जेठ १८ मा शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।