काठमाडौँ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहानदेखि बैठक चलिरहेको छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला र गगन थापा समूहको बैठक बसेको हो । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ
मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर गुरुङ र लिम्बुलाई मात्र मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।
तीन मन्त्री पाउनुपर्ने अडान राखेर शेखर–गगन समूहले नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए । अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ ।
शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी रहेको छ ।