काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई खादा माला लगाइदिएर स्वागत गरेका हुन् ।
बिहीबार बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।
विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार ७०० चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेको र त्यही समूहको पहिलो लट आज नेपाल आएको छ । उनले भने, ‘एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु हाम्रो लागि खुसीको कुरा हो, त्यसैले मन्त्रीज्यू, राजदूत र हामीहरु विमानस्थलमै पुगेर स्वागत गर्यौं ।’