दोधारा चाँदनी । महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी सञ्चालन हुन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो ।
उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताएका छन् । “हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ”, उनले भने ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।
महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ । आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्याउन समस्या हुने छैन ।