काठमाडौ । सरकारले चालू आर्थिक वर्षको नौ महिनामा जम्मा ५२ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनअनुसार साउनदेखि चैत मसान्तसम्म नौ खर्ब ४३ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यस आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
चैतसम्म चालू शीर्षकमा सात खर्ब छ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित बजेटको ५९ दशमलव ७३ प्रतिशत हो । यस आर्थिक वर्षमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
यो अवधिसम्म पुँजीगत शीर्षकमा विनियोजित बजेटको २८ दशमलव १९ प्रतिशत खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्यांकअनुसार चैत मसान्तसम्म जम्मा १ खर्ब सात अर्ब २४ करोड ३४ लाख रुपैयाँ बजेट खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले चालू खर्चका लागि तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
वित्तीय व्यवस्थातर्फको बजेट खर्च पनि न्यून नै देखिन्छ । चैत मसान्तसम्म जम्मा एक खर्ब २९ करोड चार लाख २३ हजार रुपैयाँ खर्च भएको छ । जुन विनियोजित बजेटको ५६ दशमलव शून्य पाँच प्रतिशत मात्रै हो । चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थापनतर्फ सरकारले दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।
आधा पनि उठेन राजस्व : यस आर्थिक वर्षमा राजस्व संकलनतर्फ सरकार निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको नौ महिना सकिँदा सरकारको राजस्व संकलन आधा पनि पूरा भएको छैन । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म जम्मा ४८ दशमलव ४७ प्रतिशत राजस्व उठेको छ । अर्थात् नौ महिनामा जम्मा छ खर्ब ८३ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जब कि यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गर्ने सुरुवाती लक्ष्य लिएको थियो ।
राजस्व, अनुदान र अन्य आम्दानी शीर्षकमा यसवर्ष १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । तर आर्थिक वर्षको ७५ प्रतिशत समय सकिँदा चैत मसान्तमा सात खर्ब २४ अर्ब ४९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन लक्ष्यको ४९ दशमलव ६७ प्रतिशत मात्रै हो । तथ्यांकअनुसार सरकारको राजस्व आम्दानीबाट चालू खर्च समेत नपुगेको देखिन्छ ।