काठमाडौं । बैंकिङ क्षेत्रमा ब्याज आम्दानी र खर्चको अन्तर उच्च देखिएको छ । महालेखापरीक्षककोे कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन तथा सुपरीवेक्षण हुँदा बैंकहरूको ब्याज आम्दानी र खर्चको अन्तर बढ्दै गएको औँल्याएको छ ।
महालेखाको प्रतिवेदनअनुसार सन् २०२०/२ मा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरूले चार खर्ब १८ अर्ब २७ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । सो अवधिमा सबै बैंक तथा वित्तीय संस्थाको कुल–कुल ब्याज खर्च दुई खर्ब ४२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो वर्ष ब्याज आम्दानी र खर्चको अन्तर एक खर्ब ७५ अर्ब ६५ करोड ६० लाख रुपैयाँ देखिन्छ ।
सन् २०२०/२१ मा वाणिज्य बैंकहरूले मात्र तीन खर्ब २६ अर्ब १५ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरी एक खर्ब ९४ अर्ब ४० करोड ९० लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । यसबाट वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी एक खर्ब ३१ अर्ब ७४ करोड ८० लाख रुपैयाँ देखिएको छ । यो अवधिमा बिकास बैंकहरूले ३८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरी २४ अर्ब दुई करोड ७० लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । यसअनुसार विकास बैंकहरूले १४ अर्ब ४० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । यस्तै वित्त कम्पनीहरूले भने आठ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरी पाँच अर्ब ९० करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । वित्त कम्पनीहरूको खुद ब्याज आम्दानी दुई अर्ब ४७ करोड ४० लाख रुपैयाँ छ ।
निम्नवर्गका समुदायमा लगानी गर्ने उद्देश्यले सञ्चालित लघुवित्त वित्तीय संस्थाहरूले पनि निकै ठूलो अंकमा ब्याज आम्दानी गरेको देखिएकोे छ । सन् २०२०/२१मा लघुवित्तहरूले ४५ अर्ब ३० करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरी १८ अर्ब २७ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो आधारमा लघुवित्त वित्तीय संस्थाहरूले २७ अर्ब दुई करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा झनै बढेको देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो वर्षभन्दा ३३ अर्ब १६ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेका छन् ।
महालेखाका अनुसार सन् २०२१–२२ मा बैंक तथा वित्तीय संस्थाहरूले पाँच खर्ब ६९ अर्ब ३५ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरी तीन खर्ब ६० अर्ब ५३ करोड रुपैयाँ खर्च गरेका छन् । जसबाट आम्दानी र खर्चबीचको अन्तर दुई खर्ब आठ अर्ब ८१ करोड १० लाख रुपैयाँ देखियो, महालेखाले भनेको छ ।
यो वर्ष वाणिज्य बैंकहरूले चार खर्ब ४२ अर्ब ४० करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरी दुई खर्ब ८४ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेका छन् । बैंकहरूको खुद ब्याज आम्दानी एक खर्ब ५७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ छ । विकास बैंकरुले पनि ५५ अर्ब ४४ करोड ४० लाख रुपैयाँ आम्दानी गरी ३७ अर्ब १९ करोड १० लाख रुपैयाँ खर्च गरेकोमा आम्दानी र खर्चबीचको अन्तर १८ अर्ब २५ करोड ३० लाख रुपैयाँ देखिएको छ । फाइनान्स कम्पनीहरूले पनि ११ अर्ब ५१ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरी आठ अर्ब छ करोड ७० लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । जसबाट आम्दानी र खर्चबीचको अन्तर तीन अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
सन् २०२१–२२ मा लघुवित्त संस्थाहरूको आम्दानी र खर्चबीचको अन्तर पनि उच्च देखिएको छ । उक्त अवधिमा लघुवित्त संस्थाहरूले ५९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरी ३० अर्ब ५२ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । सोअनुसार लघुवित्त संस्थाहरूमा आम्दानी र खर्चबीचको अन्तर २९ अर्ब ४६ करोड ३० लाख रुपैयाँ देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले बैंकिङ क्षेत्रमा ब्याज आम्दानी र खर्चबीचको अन्तर यति धेरै हुन नहुने आफ्नो ६०औँ प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाले भनेको छ ‘ब्याज आय र खर्चको अन्तर उल्लेख्य देखिएकाले नेपाल राष्ट्र बैंकले यस सन्दर्भमा विश्लेषण गरी प्रभावकारी अनुगमन तथा नियमन गर्नुपर्दछ । यसैगरी नमूना छनोट गरेका आठ लघुवित्त संस्थाहरूको २०७७/७८ मा प्रतिसेयर आम्दानी विश्लेषण गर्दा मुख्यतः ऋण लगानीबाट प्राप्त हुने ब्याजबाट लघुवित्त संस्थाको आम्दानी अधिक देखिएकोले सोको विश्लेषण गरी उपयुक्त नीति अवलम्बन गरिनुपर्दछ ।’