काठमाडौँ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा प्रमुख तीन दलबीच सहमति जुटाउन भनेर आइतबार बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको छ । यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो ।
ओली निवास बालकोटमा आइतबार बिहान ९ बजेलाई तय भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका हुन् । दुई नेता अनुपस्थित भएसँगै बैठक बस्न नसकेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
बालकोटमा प्रधानमन्त्री, सभामुख र काङ्ग्रेस सभापतिसहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भए पनि प्रधानमन्त्री र कांग्रेस सभापति नआउदा बैठक बस्न सकेन ।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ९ बजेर २० मिनेटमा बैठक बस्न नसक्ने भनेर जानकारी गराएको एमाले सचेतक बर्तौलाको भनाइ छ। ‘बालकोटमा बैठक राखेकोबारे हामीलाई जानकारी छैन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सभामुखसहितको बैठक यसअघि बालुवाटारमा नै बस्ने गरेको मात्र थाहा थियो ।’
बर्तौलाका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय मुद्दामा छलफल र संवादका लागि तयार भएपनि सत्तापक्ष नै छलफल गर्न तयार भएको देखिएन ।