काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित व्यवसायी जगदीशप्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका छन् । संविधान दिवसको अवसरमा २०७९ असोज तीन गते घोषित उक्त विभूषण यही वैशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले प्रदान गरेका हुन् । सो अवसरमा अग्रवाललाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपतिप्रति हार्दिक कृतज्ञता जाहेर गरेको बैंकले जनाएको छ ।
विगत छ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा स्थापित अग्रवालले कुशल व्यावसायिक रणनीतिकार एवं उत्कृष्ट व्यवस्थापकको रूपमा अनुकरणीय उद्यमशीलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु-याउँदै आएका छन् । उनी एनआईसी एसिया बैंकको पूर्वअध्यक्ष हुन भने विशाल गु्रपको अध्यक्ष पनि हुन् ।
मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा काम गर्दै आएका छन् । साथै, उनले बैंक, बीमा र वित्त कम्पनीमार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको बृहत्तर हितको लागि विशिष्ट योगदान पु-याउँदै आएका छन् ।