काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै सीबीफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ । संविधान दिवस–०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्षमा राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ ।
उक्त मानपदवी सीबीफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका छन् । यो उपाधि संस्थागतरूपमा पहिलो पटक प्रदान गरिएको हो ।
बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरूको हकहितको संरक्षण एवं संवर्द्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैंकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरूको समुचित निकासका लागि सरोकारवाला पक्षहरूसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरूवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्य सहित सीबीफिन स्थापना भएको हो ।