काठमाण्डौं,चैत १८
भारतले आफ्ना नागरिकलाई नेपालबाट प्रवेश गर्न रोक लगाउँदा सीमाबाट भगाउन हवाइ फायर गरेको छ । वीरगञ्ज–रक्सौलको नाकाको मितेरी पुलमा अलपत्र परेका सयौं भारतीय नागरिकलाई भारतीय प्रहरीले नेपालतर्फ धपाउन सोमबार हवाइ फायर गरेको हो । काठमाडौं, पोखरालगायत अन्य पहाडी तथा तराईका जिल्लामा विभिन्न पेशा तथा व्यवसाय गरिरहेका भारतीय नागरिक आफ्नो देशको परिचयपत्र बोकेर भारत प्रवेशको प्रतीक्षामा थिए । भारतले पहिला स्वास्थ्य जाँच गरेर प्रवेश गर्न दिने भने पनि पछि नदिने भन्दै नेपालतर्फ फर्किन भनेको थियो । सिमानामा बसेकाहरुले नमानेपछि भारतीय प्रहरीले हवाइ फायर गरेर नेपालतर्फ भगाएको हो । नेपालमै रोकिएका उनीहरुलाई वीरगञ्जमा रहेको ठाकुराम क्याम्पसमा राखिने तयारी छ ।
नेपालमा पहिलो सात दिन र पछि आठ दिन गरी १५ दिनको लकडाउन गरे पनि भारतले नेपालमा लकडाउन गरेको भोलिपल्ट एकै पटक २१ दिनको लकडाउन गरेको छ । भारतले विदेशबाट आएका आफ्ना देशका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा पठाउने गरेको छ । यसले गर्दा पनि नेपालालबाट जानेहरु सिधै घर जान पाउनेछ्रैनन् । नेपालमा रहे पनि उनीहरुको स्वास्थ्य उपचार र खानपिनको व्यवस्था गर्ने भारतीय पक्षले जानकारी दिएका वीरगञ्जबाट प्राप्त समाचारमा जनाइएको छ । खासगरी नेपालमा बसेर मजदुरी गर्नेहरु आफ्नो देश फर्कन नपाएका हुन् । बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालमा आएर मजदुरी गर्नेको ठूलो संख्या छ । नेपालमा लकडाउन भएपछि उनीहरु भारत प्रवेश गर्न पाइने आशले वीरगञ्ज पुगेका हुन् । यस्तै, नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतको धार्चुलाबाट नेपाल प्रवेश गर्न खोज्ने नेपाली नागरिकलाई भारततर्फ नै रोकेको छ । उनीहरुलाई १४ दिनसम्म भारतको धार्चुलामै नेपाल सरकारको खर्चमा क्वारेन्टाइनमा राखिने भएको छ ।