काठमाडौं । विदेशी लगानीकर्ताले नेपालबाट नौ महिनामा झण्डै १४ अर्ब रुपैयाँ लाभांश लगेका छन् । उनीहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गरेबापत प्राप्त लाभांशस्वरुप नौ महिनामा १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लाभांश लगेका हुन् ।
उद्योग विभागले यस आर्थिक वर्षको चैत मसान्तसम्म रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४ रुपैयाँ विदेश लैजान सिफारिस गरेको छ । यसबाहेक १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार छ सय नौ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजान स्वीकृति दिएको छ ।
विभागका अनुसार विदेशी लगानीकर्ताले पछिल्लो तीन महिनामा मात्रै साढे पाँच अर्ब रुपैयाँ लाभांश लगेका छन् । चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख रुपैयाँ बाहिरिएको छ । त्यसअघि फागुनमा २८ करोड ८१ लाख रुपैयाँ र माघमा दुई अर्ब १७ करोड २८ लाख रुपैयाँ विदेशी लगानीकर्ताले लगेका छन् ।
विदेशी लगानीकर्ताहरुले नेपालमा गरेको लगानीबाट हरेक महिना प्रतिफलस्वरुप लाभांश लैजाने गरेको विभागकी सूचना अधिकारी रमिला भण्डारीले जानकारी दिइन् । लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएको उनले बताइन् ।
कोभिड र रुस युक्रेन युद्धले अर्थतन्त्र कम चलायमान भएका बेला पनि नेपालमा विदेशी लगानी आएको थियो । त्यसअघि पनि नेपालमा विदेशी लगानी आएकाले लगानीको प्रतिफल बाहिरिने तथ्याङ्कको आँकडा बढेको देखिएकोे हो ।
विभागका अनुसार अहिलेसम्म नेपालमा चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार सात सय चार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
विदेशी लगानीकर्ताहरुले प्रतिफल लैजाने काम मात्र नगरेर लगानी प्रतिबद्धता समेत जनाएका छन् । विभागका अनुसार नौ महिनाको अवधिमा विदेशी लगानीकर्ताहरुले २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
चैत महिनामा मात्रै सात अर्ब ५५ करोड १८ लाख रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा एक सय ९२ वटा उद्योगका लागि प्रतिबद्धता आएको छ । यसबाट १० हजार नौ सय २७ जना र एक हजार चार सय ४९ जनाको रोजगारीसहित लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।
चैत महिनासम्म ५३ वटा उद्योगको लागि १३ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) भएको छ भने चैत महिनामा मात्र १० वटा उद्योगको लागि एक अर्ब ३५ करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) भएको छ । विभागले गत वर्षको तुलनामा हालसम्मको अवधिमा लगानी प्रतिबद्धतमा वृद्धि भएको बताएको छ ।
पछिल्लो समय नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकहरुमा पहिलो स्थानमा भारत, चीन, सेन्ट किट्स एण्ड नेभिज र आएरल्यान्ड छन् । यसका साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुक रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ । त्यसैले गर्दा लाभांश पनि ती मुलुकका लगानीकर्ताहरुले लगेको विभागले जनाएको छ ।
चैतसम्म व्यावसायिक भिसास्वरुप लगानीकर्तालाई एक हजार दुई सय २४ वटा, प्रतिनिधिलाई एक सय ८६ वटा र डिपेन्टेन्ट पाँच सय २४ वटा भिसा प्रदान गरिएको छ । विदेशी लगानीकर्ताले धेरैजसो उत्पादन, खानी र उत्खनन क्षेत्रबाट लाभांश लगेका पाइन्छ हाल भने क्षेत्रहरु विभाजन नगरिसकेको विभागले जनाएको छ । त्यसपछि विदेशी लगानीकर्ताहरुले विद्युत्, ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट समेत लाभांश लग्ने गरेको विभागले बताएको छ ।
विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।
राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।