काठमाडौं, चैत १८
सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड–१९ रोकथाम नियन्त्रण गर्ने सामग्री पठाएको छ । सोमबार सेनाको हेलिकोप्टर र गाडीबाट सातवटै प्रदेशमा चीनबाट ल्याएका औषधिजन्य सामग्री पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको बताएका छन् । सरकारले आइतबार बिहान पहिलो लटमा चीनबाट ल्याएका सामग्री दामासाही तरिकाले प्रदेशहरुमा पठाएको हो । सरकारले सातै प्रदेशमा प्रयोगशाला सञ्चालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ । कुनै प्रदेशमा आज मंगलबारदेखि नै कोरोनाको परीक्षण गर्न थालिने बताइएको छ । यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गथ्र्याे ।
आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम सुरु गरिएको छ ।प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पीसीआर मेसिन) पनि विकल्प (ब्याकअप)का लागि पठाइने मन्त्रालयको जनाएको छ । सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) एक÷एक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुई÷दुई जार थान तथा एन९५ मास्क एक÷एक हजार थान पठाइएका छन् ।