काठमाडौं । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘इबिएल टच २४’ मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका छन् ।
सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपरमार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरूले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्यूआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरूलाई थप सुविधा पुग्ने विश्वास बैंकले गरेको छ ।