काठमाडौं । चारवटा लघुबीमा कम्पनीका अध्यक्षले एकैपटक शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष विभिन्न चार लघुबीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूले शपथग्रहण गरेका हुन् ।
अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।
सो अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी सञ्चालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताए । अध्यक्ष सिलवालले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी स्थानीयस्तरमा सञ्जाल विस्तार गरी लघुविमा व्यवसाय गर्न निर्देशन दिए ।