काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको छ भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।
अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको हुँदा मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने अनि बेला बेलामा साबुन पानीले हात धुन सबैलाई आग्रह गरेको छ । मंगलबार एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको निधन र तीन सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन् ।