काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चर्को र क्रान्तिकारी कुरा गरेर गन्तव्यमा नपुग्ने र यसले दूरगामी असर मात्रै गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित टोलीसंँग बुधबार भएको भेटमा गभर्नर अधिकारीले हरेक विषयलाई ब्याजदरसँग जोडेर चर्को कुरा नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘चर्को र क्रान्तिकारी कुरा गरेर गन्तव्यमा पुगिँदैन, यसले दूरगामी असर मात्रै गर्छ ।’
कुनै पनि कुरा राख्दा भद्र हिसाबले राखेमा त्यसको परिणाम पनि राम्रो आउँछ भन्दै गभर्नर अधिकारीले हरेक विषयलाई ब्याजसँग जोडेर बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएकोमा असन्तुष्टि व्यक्त गरे । ‘काठमाडौंमा दुई लाखको व्यापार हुने ठाउँमा भाडा ६० हजार छ । त्यो भाडाका कारण व्यवसाय चलाउन नसकेर बन्द गरेर हिँडेको हुन्छ तर त्यहाँ पनि ब्याज जोड्ने गरिएको छ’, गभर्नर अधिकारीले भने ।