काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमाको सम्झना गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा विहीबार बिहानैदेखि घुइँचो लागेको छ । भक्तजनहरुले अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बसी भोलिपल्ट बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको बताए । मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताए ।