काठमाडौं । २०८० मंसिर १२ गतेसम्म २५ लाख सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएको छ। भाषा विवादका कारण ढिलाइ भएको भनिएता पनि भोतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो विवाद सुल्झेको दाबी गरेको छ।
भौतिक पूर्वाधार मन्त्रालयका ई. अर्जुन थापाका अनुसार प्रदेशको नाम नेपाली र अंक अंग्रेजीमा राख्ने गरी सुल्झाइएको छ। तर यातायात व्यवस्था विभागका कर्मचारी अझै समाधान भएको मान्दैनन् ।
२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आइटी कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। तर सरकारले विभिन्न कारण देखाउँदै काम पुरा गर्न सकेको छैन।
सरकारलाई तोकिएको पाँच वर्षको अवधि २०७८ साल भदौमै सकिएको थियो। काम नसकिएपछि सरकारले साढे दुई वर्षको लागि समय थप गरेर सम्झौता नवीकरण गरेको छ।
इम्बोस्ड नम्बर प्लेटसम्बन्धी देखिएको सबैभन्दा मुख्य विवाद भाषालाई लिएर हो। यसभन्दा अघि विभागले वितरण गरिरहेको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा लेखिएको छ।
इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सरकारैपिच्छे फरक निर्णय हुने देखिन्छ। मन्त्रालयको निर्णय अुनसार विभागले काम गर्ने हो । यसो हुँदा काम गर्न अप्ठेरो भएको भन्दै केही समय अघि विभागका एक स्रोतले बताएका थिए।
हाल नेपालमा ३७ लाख सवारी साधन दर्ता भएका छन्। सरकारले सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै नेपालमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको हो।