काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वर्षे अवधिको २० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्रीमा ल्याएको छ । सरकारका लागि विकास निर्माणको काम गर्न आवश्यक पैसा जुटाउन आन्तरिक ऋण उठाउने औजारको रुपमा राष्ट्र बैंकले विकास ऋणपत्र बिक्रीमा ल्याउने गर्छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अपराह्न ३ बजेसम्म बोलकबोल भइसकेको छ । ‘विकास ऋणपत्र २०८४ ‘ट’ नाम दिइएको सो ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सहभागिता जनाउनसक्ने व्यवस्था छ । विकास ऋणपत्रको निष्काशन आज शुक्रबार हुनेछ भने २०८४ वैशाख ८ गते ऋणपत्र परिपक्व हुनेछ ।
ऋणपत्रको कुल रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र तीन अर्ब रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको थियो ।
राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिने व्यवस्था थियो । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोहीअनुरुप चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यसअन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने योजना राष्ट्र बैंकको छ ।
सो अनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुल एक खर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । जसमध्ये दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा ४४ अर्ब र चौथो त्रैमासिकमा ५५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । सोमध्ये तेस्रो त्रैमासिकमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासिकमा ७५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ । यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँबराबरको पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकको छ । यसअन्तर्गत तेस्रो त्रैमासिकमा दुई अर्ब र चौथो त्रैमासिकमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्य अनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासिकमा ५० करोड रुपैयाँ बराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश शून्य दशमलव २१ प्रतिशत रहेको छ ।