काठमाण्डौं,चैत १९
चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (कोभिड–१९)ले विश्वको अर्थतन्त्रलाई गम्भीर धक्का दिने भएको छ । विश्वव्याधिबाट विश्वलाई एक वर्षभन्दा बढी समय वित्तीय संकटमा धकेल्ने पनि विश्व बैंकको दाबी छ । विश्व बैंकका अनुसार खासगरी पर्यटन, व्यापार र कमोडिटीमा निर्भर देशहरुमा संकट लम्बिनेछ । विश्वको अर्थतन्त्र ठप्प हुँदा यो वित्तीय संकट सन् २०२० भन्दा पनि पछिसम्म लम्बिने बताइएको छ । गरिबहरु थप गरिब हुनेछन् भने धनीहरुले पनि आम्दानी जोगाउन सक्नेछैनन् । यसले अर्थतन्त्र सुधारको बाटो लामो र कष्टकर हुने पक्का भएको छ । डिसेम्बर महिनामा सुरु भएको कोरोना विश्वका दुई सय तीन मुलुकमा फैलिसकेको छ । विश्व बैंकका अनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका मात्रै एक करोड दश लाख मानिसलाई थप गरिबीमा धकेल्ने केही दिन अगाडि सार्वजनिक गरेको ‘कोभिड–१९ को महामारीले पार्ने आर्थिक प्रभाव’सम्बन्धी प्रतिवेदनमा देखाइएको छ । विश्व बैंकले कोरोनाको कारण न्यून ज्याला तथा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु अत्यधिक जोखिममा रहेको पनि दाबी गरेको छ । नेपाल पनि त्यस्तै न्यून ज्याला तथा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु धेरै भएको मुलुकमध्येमै पर्छ । विश्व बैंकका अनुसार कोरोनाको कारण नेपालसहित दक्षिण एसियाका करिब ४० देशका जनताले आर्थिक रुपमा ठूलो जोखिम भोग्नुपर्नेछ । आन्तरिक रुपमा उत्पादन नभएका देशहरुको आर्थिक अवस्था थप कमजोर बन्नेछ । तर, धनी देशहरुमा पनि आर्थिक मन्दी आउनेछ । आर्थिक मन्दी आएपछि अत्यन्तै सुस्त तरिकाले मात्र सुधार आउनेछ । अन्य प्राकृतिक वित्तीय केही निश्चित देशमा आउने गरे पनि कोरोनाले विश्वका सबै देशलाई असर पारेको कारण सबै देशले आफ्ना लागि मात्र आर्थिक प्याकेज ल्याउनेछन् । धनी देशहरुले पनि आफ्नो अर्थतन्त्र सुधार्न मात्र आर्थिक प्याकेज ल्याउने भएको कारण नेपालजस्ता कमजोर आर्थिक अवस्था भएका देशहरुलाई त्यसले तत्काल राहत दिनेछैन ।
विश्व बैंकका अनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा अर्थतन्त्रको आधारभूमि अवस्थामा आर्थिक वृद्धिमा गम्भीर मन्दी आउने र संकुचन धेरै हुने भएकाले अर्थतन्त्रको सुधार अत्यन्त सुस्त हुनेछ । विश्वव्याधिले नछोएका करिब दुई करोड ४० लाख मानिस गरिबी नजिक पुगेर जोगिन सफल हुनेछन् । कोरोनाको प्रभाव बढ्दै गएमा साढे तीन करोड मानिस गरिबी नजिक पुग्नेछन् । विश्व बैंकले दैनिक आम्दानी साढे पाँच अमेरिकी डलरलाई गरिबीको रेखाको सीमा मानेको छ । चीनमा धेरै मानिस गरिबीको रेखा नजिक पुग्ने विश्व बैंकको प्रक्षेपण छ । चीनमा छ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर रहेको छ । कोरोनाको कारण चार प्रतिशत विन्दुसम्मले घट्ने अनुमान गरिएको छ । तर, चीनमा सन् २०१९ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर थियो । सन् २०२० मा दुई दशमलव तीन प्रतिशतदेखि सून्य दशमलव एक प्रतिशतसम्म खुम्चिनेछ । विश्व बैंकका अनुसार थाइल्याण्डको पर्यटन र कम्बोडियाको गार्मेन्ट क्षेत्रमा काम गर्ने हजारौं श्रमिक कादार गरिबीको रेखामुनि पुग्नेछन् । विश्व बैंकको प्रतिवेदनअनुसार फिलिपिन्स, पपुवा न्यूगिनी, इन्डोनेसिया, मलेसिया, टिमोर र थाइल्याण्डको आर्थिक वृद्धि पूर्णतः ऋणात्मक हुनेछ । कोरोनाको कारण थाइल्याण्डको अर्थतन्त्र माइनस शून्य दशमलव तीनदेखि माइनस शून्य दशमलव पाँच प्रतिशतसम्मले खस्किनेछ । मलेसिया, टिमोर इन्डोनेसियाको आर्थिक अवस्था पनि थप कमजोर हुनेछ ।