सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँ बस्तीको बसपार्क निर्माणकार्यमा ठेकेदार कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ । नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनी यति निर्माण सेवाले गुणस्तरहीन काम गरेको पाइएको हो ।
बसपार्कको ढलानमा कम्पनीले प्राविधिक मापदण्डबाहिर गएर कतिपय ठाउँमा रडविना नै ढलान गरेको पाइएको छ भने रड बिच्छ्याइएको ठाउँमा समेत ८÷१० एमएमको रड प्रयोग गर्नुपर्नेमा ८/८ एमएमको रड प्रयोग गरेको भेटिएको छ । निर्माण कम्पनीले रातारात गुणस्तरहीन काम गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।