काठमाडौं । शुक्रबार राति साढे ११ बजे कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । मकवानपुरका निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत सबै सामान जलेर नष्ट भएको थियो ।
घटनापछि दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । भूपेन्द्र गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।
‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले भने, ‘परीक्षणपछि मात्र त्यो शव उनकै हो कि होइन भन्ने थाहा हुन्छ ।’ प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । ।