दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाउँदा उनी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ ।
प्रदेशसभाको बैठकमा सोमबार उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।
मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।
माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिएका हन् ।
गिरीले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताएपनि एमाले संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत नपाए धारा ३ अनुसार ठूलो दलको हैसियतमा दाबी गर्ने निर्णय गरेको छ ।