काठमाडौं, दरबारको वंशनाशपछि सोझै नेपाल ट्रष्टमा जानुपर्ने तर जालसाजी गरेर असम्बन्धित व्यक्तिको नाममा पु-याइएको दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्णको नाममा रहेको जमिन सत्ताधारीहरुसँगको भित्री लेनदेनको सेटिङपछि कित्ताकाट गरेर बिक्री गर्ने प्रपञ्च थालिएको थाहा भएको छ । उक्त होटल तत्कालीन राजा त्रिभुवनले आफ्ना महारानीहरु र एक बुहारीको नाममा खोलेका थिए । २०५८ सालमा दरबारको वंशनाशपछि गठित नेपाल ट्रष्टमा केही प्रतिशत मात्र सेयर हस्तान्तरण गर्दा दरबारसँग निकटपक्षले जालसाजी गरेर असम्बन्धित व्यक्ति कपिल राणाको नाममा सेयर हस्तान्तरण गरेको थियो । उनीजस्तै अलपत्र युवती सृजना मल्ललाई राणासँग बिहे गराएर उनलाई होटलको कार्यकारी बनाइएको थियो ।
राणा दम्पतीले उक्त होटल चोरबाटोबाट हात पारेपछि ३२ लाख अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको विषय राजस्व अनुसन्धान विभागमा वर्षौँदेखि विचाराधीन अवस्थामै छ । तर विभागले उनीहरुविरुद्ध मुद्दा दायर गर्न सकेको छैन् । होटलका नयाँ र नक्कली सञ्चालकले जसरी भए पनि होटल अन्नपूर्णको सबै सम्पत्तिमा आफ्नो हक स्थापित गरिरहेका छन् । त्यही क्रममा होटल बन्द गरेर सामान अन्यत्र सारिसकेका छन् ।
क्यासिनो अन्ना त्यहीँका दुई मजदुरको नाममा सारेर त्यसलाई यसअघि नै बन्द गरेका छन् भने मजदुरको करोडौँ रुपैयाँ नदिएर उनीहरुलाई सडकछाप बनाइदिएका छन् । सन् २०१९ को कोरोना महामारीका नाममा होटलले पाउने सुविधाको कर्जा लिएर होटल सञ्चालन गर्नुको साटो बन्द गरेर होटलका कामदारलाई अलपत्र पारिदिएका छन् ।
होटलले तिर्नुपर्ने एक अर्ब ३२ करोडभन्दा बढी बैंक कर्जाको लामो समयदेखि किस्ता समेत नतिरेको अवस्था छ । त्यसैलाई समाधान गर्ने नाममा विवादास्पद भारतीयमूलका व्यापारीहरुमार्फत सत्ताका सञ्चालकहरुसँग सौदाबाजी गरेर होटलको जग्गा दोहोरो मूल्यमा बिक्री गर्न लागिएको छ । होटलको नामको छ रोपनी जमिन टुक्राएर हिमालय रिइन्स्योरेन्सलाई बिक्री गर्न लागिएको हो । उक्त जग्गाको चलनचल्तीको बजार भाउ प्रतिआना पाँच करोड रुपैयाँ छ । तर अहिले हिमालय रिइन्स्योरेन्सलाई प्रतिआना एक करोड ९० लाख रुपैयाँमा बिक्री गर्न सृजना राणा र हिमालयन रिइन्स्योरेन्सका साहिल अग्रवालबीच देखावटी सहमति भएको बताइएको छ । त्यसको तारतम्य प्रभुराम भण्डारीले मिलाएको बताइएको छ ।
सृजना राणा यसरी दोहोरो मूल्यमा होटलको कारोबार गर्दै जग्गा निकाल्न माहिर छिन् । यसअघि कुमारी हलमा क्यासिनो सञ्चालन गर्न दिँदा एक जना भारतीयको सबै रकम खाइदिएकी थिइन् भने अर्को तराईमूलको नेपालीसँग ३५ करोड रुपैयाँ खाएकी थिइन् । अहिले पनि विवादास्पद व्यापारी अग्रवालसँग प्रतिआना चार करोड ९० लाख प्रतिआनाको कारोबार देखाएर नेपाल ट्रष्टमा जानुपर्ने दरबारको सम्पत्ति लुकाउन चाहने पक्षलाई ठगेको र त्यही कमिसनको रकम सत्ताधारीहरुलाई नजरानाको बुझो लगाएर नेपाल ट्रष्टमा जानुपर्ने उक्त सम्पत्तिको छानबिन हुनै नदिएर नेपाल ट्रष्ट समेत सेयर होल्डर रहेको जमिन टुक्राएर भारतीयमूलका व्यापारीले सञ्चालन गरेको कम्पनीलाई दिन लागिएको बुझिएको छ ।
उक्त जमिन कित्ताकाट गरेर बिक्री गर्न क्याबिनेटले निर्णय गरेर अनुमति दिनुपर्ने हुन्छ र त्यसका लागि नेपाल ट्रष्टले सिफारिस गर्नुपर्ने हुन्छ ।
नेपाल ट्रष्टको अध्यक्षलाई यसअघि नै प्रभावमा पारेर होटलका पुराना र बहुमूल्य एण्टिक सामान रातारात बिक्री गरिएको समाचार सार्वजनिक भइसकेको छ । होटल अन्नपूर्णका संस्थापक तीन जना सेयर होल्डरहरुमध्ये दरबारको वंशनाश हुनुअघि नै दुई जनाको निधन भइसकेको थियो । जीवित रहेकी हेलेन शाह पनि अशक्त थिइन् ।
सात वर्षको छोरो अलपत्र पारेर विदेशीसँग पोइल गएकी हेलेनको छोरी केतकीका छोरा कपिल राणाको नाममा शेषपछिको कागज गराएर उनी नमर्दै जालसाजी गरेर दरबार हत्याकाण्डपछि असम्बन्धित व्यक्ति कपिलका नाममा उक्त सम्पत्ति नामसारी गरिएको थियो । त्यससम्बन्धी कागजात कम्पनी रजिष्ट्रार कार्यालयबाट नै गायब पारिएको छ ।
दरबारले पालेर हुर्काएको व्यक्ति कपिल र सृजना मल्लबीच बिहे गराएर नेपाल ट्रष्टमा जानुपर्ने उक्त सम्पत्ति वंशनाश भएको दरबारनिकट व्यक्तिहरुले जलसाजी गरेर कपिलको नाममा लुकाएर राखेको कुरा कसैबाट छिपेको छैन । तर त्यसलाई छानबिन गरेर नेपाल ट्रष्टमा लैजानुपर्नेमा त्यसो नगरी सत्ताधारीहरुले कमिसनको स्वार्थमा लुटपुटिएर त्यसैलाई वैधानिकता दिन लागेको देखिएको छ । नेपाल ट्रष्टमा लैजानुपर्ने होटल अन्नपूर्णको जमिन भारतीयमूलका व्यापारीहरुको सञ्चालनमा रहेको हिमालयन रिइन्स्योरेन्सका साहिल अग्रवालजस्ता व्यक्तिहरुलाई अघि सारेर कुख्यात कमिसन दलाल दीपक भट्टले किनबेच गराउने जोडघटाउ मिलाएको बुझिएको छ ।