काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा सुधार नभए श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रको हालको अवस्था थप लम्बिए श्रम कटौती गर्नुपर्ने अवस्था आउने बताएका हुन् ।
वस्तु तथा सेवाको मागमा आएको उच्च संकुचनका कारण उद्योगी व्यवसायी समस्यामा रहेको जानकारी मन्त्री भण्डारीलाई गराए । उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको अग्रवालले बताए । अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चिँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्ने लगायतका विषयमा परिसंघले जोड दिएको छ । यसैगरी परिसंघले श्रमिकहरुको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा समेत छलफल भएको थियो ।
छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, परिसंघ रोजगारदाता परिषद् सभापति अमित बेगानी, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोर, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।