काठमाण्डौं,चैत २१
विदेशमा रहेका नेपाली विद्यार्थीहरुको लागि बढीमा अमेरिकी डलर पाँच सय वा सोबराबरको परिवत्र्य विदेशी मुुद्रा मात्र पठाउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । परिपत्रमा भनिएको छ, ‘विदेशमा रहेका नेपाली विद्यार्थीहरुले प्राप्त गर्ने गरी नेपाल सरकार शिक्षा मन्त्रालयलको नो अब्जेक्सन लेटर (एनओसी) विना पनि राष्ट्र बैंकले तोकेको विभिन्न शर्तहरुको अधीनमा रहेर निर्वाह खर्चबापत सटही सुविधा प्रदान गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार यसरी पठाएको रकमको बेनिफिसेरी अर्थात् प्राप्त गर्ने व्यक्ति हाल विदेशमा रहेका नेपाली विद्यार्थी हुुनुपर्नेछ । निर्वाह खर्चबापतको रकम पठाउँदा रकम जसको नाउँमा पठाइएको हो त्यो विद्यार्थी विदेशमा रही अध्ययन गरिरहेको गरिरहेको खुल्ने कागजातसहित बैंक तथा वित्तीय संस्थामा निवेदन पेश गर्नुपर्नेछ । सोही निवेदनका आधारमा प्रतिविद्यार्थी बढीमा अमेरिकी डलर पाँच सय वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुुद्रासम्मको सटही सुविधा एकपटकसम्म मात्र पठाउन सकिने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार उक्त रकम विद्यार्थीका अभिभावक वा आफन्तले मात्र पठाउन पाउनेछन् । सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा पेश गर्नुुपर्नेछ । यसरी प्रदान गरिने सटही सुविधासम्बन्धी विवरण सम्बन्धित महिना समाप्त भएको सात दिनभित्र नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा पेस गर्नुपर्नेछ ।
सुुनको दैनिक आयात कोटा १० किलो
यसैबीच राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई १० किलोमा झारेको छ । राष्ट्र बैंकले बुुधबार नै सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा १५ किलो तोकेको थियो । कोराना भाइरस कोभिड १९ को विश्वव्यापी महामारीका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेसँगै राष्ट्र बैंकले आफ्नो देशमा पर्न सक्ने मन्दीको असरलाई कम गर्न आयात परिमाण घटाउन निर्देशन दिएको हो । सोही परिपत्रअनुसार राष्ट्र बैंकले नधुुल्याएको मरिच, सुपारी, केराउ, छोकडा र तयारी मदिराको पैठारी पूर्णरुपमा बन्द गरिएका कारण त्यस्ता वस्तुुको आयातको लागि विदेशी मुुद्राको सटही सुबिधा नदिन बैंकहरुलाई निर्देशन दिएको छ । यसैगरी अमेरिकी डलर ५० हजारभन्दा बढीको सवारीसाधन पैठारीलाई पनि अर्को व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्देज लगाइएकाले सो कार्यमा समेत विदेशी मुुद्राको सटही सुविधा नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।