देउखुरी । घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
विहीबार घोराहीमा प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढङ्गबाट प्रक्रिया अघि बढाउने विषयमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिइन् । उनले असार अगावै चारलेन सडक निर्माणलाई नयाँ ढङ्गबाट अघि बढाउन सकिने विश्वास दिलाइन् ।
देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उनले बताइन् ।
अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने गरि प्रक्रिया अघि बढाएको जानकारी गराइन् ।