गण्डकी । जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको एमाले का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
बिहीबार आयोजित प्रेस चौतारी कास्की शाखाद्वारा पुरस्कार वितरण कार्यक्रममा उनले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म अनुसार सरकारले काम गर्नुपर्ने सुझाव दिए । दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न नसकिने उनले बताए । उनले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल सङ्गठित हुनुपर्नेमा जोड दिए ।
एवं गण्डकी प्रदेश इञ्चार्ज एवं एमालेकी सचिव पद्मा अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिक भन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे ।
यसै अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ देखि ०७९ बाट पाँच पत्रकारहरु श्यामनाथ कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु. ११ हजार १११ र सम्मानपत्र रहेको छ । कार्यक्रममा प्रेस चौतारी कास्की सम्मान २०७९ पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरियो ।