काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा शिथिलता आउनुका विभिन्न कारणमध्ये मौद्रिक नीति पनि भएको भन्दै त्यसलाई खुकुलो पार्न आफूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको बताएका छन् । ‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति, आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार पनि छ । तर, एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ ग¥यो । कति कसिकसाउ गर्नुपथ्र्यो, कति गर्नुहुँदैनथ्यो, त्यो अर्को विषय हो, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु ।’
ब्याजदरले पनि अर्थतन्त्रमा समस्या सिर्जना गरेको भन्दै अर्थमन्त्री महतले ब्याजदरकै कारण बजारमा पुँजी प्रवाह नभएको दाबी गरे । ‘मौद्रिक नीतिमार्फत ब्याजदरमा केही लचकता ल्याएर बजारमा पुँजी प्रवाह गर्न जरुरी छ’, अर्थमन्त्री महतले भने । साथै उनले राष्ट्र बैंकको साथै अर्थतन्त्रमा समस्या आउनुमा पुँजीगत खर्च कम हुनु पनि अर्को कारण रहेको भन्दै त्यसको आफैँले नेतृत्व गरेको कारण सुधार हुने दाबी गरे ।
‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पुँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ’, अर्थमन्त्री महतले भने, ‘त्यसलाई बढाउने गरी काम गर्नेछु ।’
अर्थमन्त्री महतले पुँजीगत खर्च कम हुनुमा पूर्वाधार विकासका काममा साइट क्लियर नभई ठेक्का लाग्नु अर्को कारण रहेकाले त्यसमा आगामी आर्थिक वर्षको बजेटमा सुधार गर्ने दाबी गरे । ‘साइट क्लियर नभई ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसेँ, काम अगाडि बढ्दैन’, उनले भने, ‘साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ । वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्नसकेको छैन । त्यसले गर्दा पुँजीगत खर्चमा समस्या आएको हो । अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ । वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुर्मुराउने परम्परा छ, यसरी हुँदैन । पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौँ ।’
बजेट निर्माण सुरु हुने बेलामा आफूले अर्थ मन्त्रालयको नेतृत्व लिएको कारण सबै समस्या यसै वर्ष समाधान गर्न नसके पनि केही समस्या समाधान गर्ने प्रतिबद्धता भने व्यक्त गरे । ‘संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छन् । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिनँ । समस्या समाधानमा मेरो इमानदार कोशिस हुनेछ, समर्पित भएर म काम गर्दै छु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमानदार प्रयास गर्नेछु’, अर्थमन्त्री महतले भने ।