काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १४ वटा फाइनान्स कम्पनीहरुको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासिकभन्दा ६५ दशमलव ८६ प्रतिशतले घटेको छ । वित्तीय विवरणअनुसार १४ वटै फाइनान्स कम्पनीहरुले ३० करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष चैतमा फाइनान्स कम्पनीहरुको नाफा ८९ करोड ७६ लाख रुपैयाँ थियो ।
लगानीयोग्य रकम अभावको प्रभाव, आर्थिक कारोबारमा देखिएको सुस्तता, मूल्यवृद्धि, चर्को ब्याजदर लगायतका कारण लघुवित्तहरुको मुनाफा प्रभावित भएको देखिन्छ । अपरिष्कृत वित्तीय विवरणअनुसार गोर्खाज, आईसीएफसी पोखरा, श्री इन्भेष्टमेन्ट, जानकी, नेपाल फाइनान्स, बेष्ट, गुह्येश्वरी मर्चेन्ट एण्ड बैंकिङ, गुडविल र रिलायन्स फाइनान्सको खुद मुनाफा घटेको छ । प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा देखिएका छन् । मञ्जुश्री र मल्टिपर्पस फाइनान्सको नाफा भने गत वर्षको तुलनामा केही बढेको छ ।
गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र मल्टिपर्पस फाइनान्सको खराब कर्जा घटेको देखिएको छ । मञ्जुश्री, आईसीएफसी, पोखरा, श्री इन्भेष्टमेन्ट, जानकी, नेपाल फाइनान्स, बेष्ट, गुह्येश्वरी मर्चेन्ट एण्ड बैंकिङ, रिलायन्स, प्रोग्रेसिभ र समृद्धि फाइनान्सको खराब कर्जा बढेको देखिएको छ ।
मञ्जुश्रीको खराब कर्जा एक दशमलव ५४ प्रतिशतबाट बढेर तीन दशमलव ३६ प्रतिशत पुगेको छ । तर मुनाफा १७ करोड १७ लाख रुपैयाँ कमाएको छ । जबकि गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ११ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । मल्टिपर्पस फाइनान्सको नाफा नौ सय ५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा पाँच लाख सात हजार नाफा कमाएको फाइनान्सले यस आर्थिक वर्षको चैत मसान्तमा ५३ लाख ६६ हजार रुपैयाँ कमाएको छ । यी दुईबाहेक अरु सबै फाइनान्सको मुनाफा घटेको छ ।
समृद्धि फाइनान्स १३ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा छ । यो फाइनान्स गत आर्थिक वर्षको चैत मसान्तमा २८ लाख रुपैयाँ नाफामा थियो । प्रोग्रेसिभ फाइनान्स पनि सात करोड ५१ लाख रुपैयाँले नोक्सानीमा गएको छ ।
सबैभन्दा धेरै खराब कर्जा जानकी फाइनान्सको देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चार दशमलव आठ प्रतिशत खराब कर्जा रहेकोमा यस आर्थिक वर्षको चैतमा २३ दशमलव छ प्रतिशत पुगेको छ । यसपछि समृद्धि फाइनान्स र नेपाल फाइनान्सको खराब कर्जा १३ प्रतिशतभन्दा धेरै छ । यद्यपि नेपाल फाइनान्सको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो । नेपाल फाइनान्सको गत आर्थिक वर्षको चैत मसान्तमा १५ दशमलव ७४ प्रतिशत खराब कर्जा थियो ।