काठमाडौँ । सरकारले विभिन्न माग राख्दै आन्दोलनमा होमिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका महावीर पुनसँग वार्ता सुरू गरेको छ। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी रहेका छन् । पुनसहित उनी निकट अरु दुई जना पुनको तर्फबाट रहेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका छन्।
माइतीघरमा धर्ना दिँदै आएका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने माग राखेका छन् ।