बुटवल । वैशाख १४ गते मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । चौधरीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा आइतबार पत्राचार गरिसकेका छन् ।
मुख्यमन्त्री चौधरीले बिहान १० बजे विश्वासको मत लिने सम्बन्धमा पत्र दर्ता गराइसकेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ मा प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेको ४८ घण्टापछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिन सक्ने व्यवस्था छ ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले शीर्ष नेताहरूकै उपस्थितिमा मुख्यमन्त्रीमा आधाआधा कार्यकाल लिने सहमति गरेका छन् । सोही आधारमा चौधरीलाई पहिलो चरणमा मुख्यमन्त्री बनाउन माओवादी सहमत भएको हो ।