काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज छनोटका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । स्टक एक्सचेन्जको लाइसेन्स प्राप्तिका लागि बोर्डमा विभिन्न तीन कम्पनीले आवेदन दिएका थिए ।
बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा अर्थ मन्त्रालयका सहचिव रितेशकुमार शाक्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र नियमन महाशाखाका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी रहेका छन् ।
कमोडिटिज एक्सचेन्जका लागि भने छुट्टै छनोट समिति बनाइने तयारी भइरहेको प्रवक्ता श्रेष्ठले बताए । बोर्डले चैत ३० गते १० दिनको समय दिएर स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । जसमा स्टक एक्सचेन्जका लागि तीनवटा कम्पनी र कमोडिटिज एक्सचेन्जका लागि चारवटा कम्पनीले आवेदन दिएका छन् ।
समितिले मंगलबारदेखि आफ्नो काम सुरु गर्ने श्रेष्ठले बताए । समितिले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका २०७९को आधारमा अंक दिई मूल्यांकन गर्नेछ ।