काठमाण्डौं,चैत २१
नेपाल उद्योग परिसंघले प्रदेश सरकारहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ । परिसंघ सरकारसँग सहकार्य गर्दै कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्न लागि परेको जनाएको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि खाद्य सामग्री लगायत अत्यावश्यकीय सामान उपलब्ध गराउने कार्य गरिरहेको छ ।
सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री उपलब्ध गराएका छन् । त्यस्तै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप सारडाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामग्री हस्तान्तरण गरे । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । साथै प्रदेश नं २ र काठमाण्डौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ । नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामग्रीहरु उपलब्ध गराइने परिसंघले जनाएको छ। दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन परिसंघले सवैमा आग्रह समेत गरेको छ ।