काठमाडौं । बैंकहरुले आन्तरिक रेमिट्यान्स भुक्तानीसम्बन्धी राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेका छन् । केन्द्रीय बैंकले झण्डै सात महिनाअघि जारी गरेको आन्तरिक रेमिट्यान्सम्बन्धी परिपत्र पूर्णरुपमा कार्यान्वयन नगरेर बैंकहरुले निर्देशनको अवज्ञा गरेका हुन् ।
बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना नगर्दा नगदको वैधानिक कारोबारभन्दा पनि अवैधानिक कारोबार अर्थात् हुण्डीले प्रश्रय पाएको स्रोतले दाबी गरेको छ । ‘राष्ट्र बैंकको आन्तरिक रेमिट्यान्ससम्बन्धी सात महिनाअघि जारी गरेको परिपत्र आजको दिनसम्म पनि पूर्णरुपमा कार्यान्वयनमा नल्याउनु भनेको हुण्डीलाई नै प्रोत्साहन गर्नु हो’, स्रोतले भनेको छ । नगदको स्थानान्तरणमा हुण्डीले प्र्रश्रय पाउँदा राज्य कोषमा आउनुपर्ने अर्बौं रुपैयाँ राजस्व गुमेको छ । यसमा नेपाल राष्ट्र बैंकले समेत खासै ध्यान नदिएको पाइएको छ ।
राष्ट्र बैंकका उच्च अधिकारीले केन्द्रीय बैंकले जारी गरेको स्वदेशी रकमान्तर कारोबारसम्बन्धी परिपत्रको बैंकहरुले अवज्ञा गरेका कारण हुण्डी कारोबारले प्रश्रय पाएको भन्ने जानकारी राष्ट्र बैंकमा अहिलेसम्म नआएको बताएका छन् । ‘हुण्डी गैरकानुनी हो, यदि कहीँ कतैबाट नियमनकारी निकायको आँखा छलेर यस्तो कार्य भइरहेको छ र यसको जानकारी राष्ट्र बैंकले पायो भने सम्बन्धित निकायहरु समेतको समन्वयमा त्यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति तथा संस्थाहरु कारबाहीमा पर्छन्’, राष्ट्र बैंकका उच्च अधिकारीले भने ।
स्वदेशी रकमान्तरको कारोबार सम्बन्धमा झण्डै सात महिनाअघि जारी भएको परिपत्रमा भनिएको छ, ‘स्वदेशी रकमान्तरको कारोबार गर्न चाहने इजाजतपत्र प्राप्त ‘ख’ र ‘ग’ वर्गका विकास बैंक तथा वित्त कम्पनीहरुले आफूले स्वदेशी रकमान्तरको कारोबार गर्न चाहेको इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग सहमति गरी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नै शाखा वा अन्य एजेन्सीमार्फत स्वदेशी रकमान्तरको कारोबार गर्न चाहेमा रकमान्तरसम्बन्धी सम्पूर्ण जोखिम आफैँले वहन गर्ने गरी यस बैंकको स्वीकृतिको लागि अनुरोध गरेमा स्वीकृति प्रदान गर्न सकिनेछ ।’
तर ‘ख’ वर्गका विकास बैंकहरुले सम्पूर्ण जोखिम आफैँले वहन गर्ने गरी आफ्ना शाखा कार्यालयमार्फत ग्राहकलाई स्वदेशी वा विदेशी रकमान्तर कारोबारसम्बन्धी सेवा प्रदान गर्न सक्ने तत्कालीन समयमा जारी भएको परिपत्रमा भनिएको छ । स्रोतका अनुसार यही परिपत्रको आधारमा टेकेर बैंक तथा वित्तीय संस्थाहरु स्वयं नै हुण्डी कारोबारमा संलग्न रहेको र हुण्डीलाई प्रश्रय दिइरहेका छन् । तर राष्ट्र बैंकका उच्च अधिकारीले भने आन्तरिक रेमिट्यान्समा हुण्डीको कारोबार हुने गरेको बारेमा त्यति धेरै सत्यता नभएको र यी कुराहरु हल्लामा मात्र सीमित रहेको बताएका छन् ।