काठमाडौं । पृथ्वीराजमार्गको धादिङको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलाको मोटरेबल पुलसँगै जोडिएको सुख्खा वालमा पानी पसेर भत्किँदा सोमबार दिउँसोदेखि पृथ्वीराजमार्ग दुईतर्फ नै अवरुद्ध भएको छ ।
सुख्खा वालमा पानी पसेर भत्किए पनि पुलमा भने कुनै क्षति पुगेको छैन । सो ठाउँमा सुख्खा वाल भत्किएर बाटो अवरुद्ध भएसँगै ग्याबिन वाल लगाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) ईश्वर रिजालले जानकारी दिए ।
‘सडक अवरुद्ध हुनासाथ भत्किएको ठाउँमा ग्याबिन वाल लगाउने काम सुरु गरिएको छ’, सीडीई रिजालले आर्थिक दैनिकसित भने, ‘ग्याबिन भर्ने काम राति पनि भइरहेको छ । मंगलबार बिहानसम्म मर्मत गरेर पृथ्वीराजमार्ग खुलाउने प्रयास जारी छ ।’
सडक अवरुद्ध भएपछि साना सवारी साधनलाई गल्छीबाट नुवाकोटको देवीघाट, गंगटे, ढिकुरी, छहरे, गुर्जे भन्ज्याङबाट काठमाडौं पठाइएको छ । छहरे–गुर्जे भन्ज्याङ सडक साँघुरो भएको कारण ठूला सवारी साधनलाई भने सो सडक प्रयोग नगर्न भनिएको स्थानीय प्रशासनले जनाएको छ । गणेशखोलामा सडक अवरुद्ध भएपछि नुवाकोटको सडकमा सवारी चाप अत्यधिक बढेको छ । त्यो चाप मंगलबार बिहानदेखि हट्ने विश्वास नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको छ ।