काठमाडौं, पश्चिमी वायु साथै स्थानीय वायुको प्रभावका कारण देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। निरन्तर पानी परेपछि धादिङको धार्केमा पुलसँगैको सडक भासियो र पृथ्वी राजमार्ग नै घण्टौँ अवरुद्ध भयो। भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार नयाँ निर्माण भइरकेको पुलका लागि खनिएको ठाउँमा वर्षाको पानी जमेपछि त्यहीँबाट सडक भासिएको हो। “गणेश खोलाको पुलसँगै अर्को पुल बन्दै छ। त्यसका लागि खनेको जगमा पानी जमेर पूरानो पुलसँगको बाटो भासिएको हो,” भने। यो साताभरि निरन्तर वर्षा हुने र यसका कारण कृषि, स्वास्थ्य, हवाई तथा सडक यात्रालगायत क्षेत्र प्रभावित हुनसक्ने बताउँछिन् वरिष्ठ मौसमविद् शान्ति कँडेल। “पानी परेसँगै धेरै मानिसको स्वास्थ्यमा असर देखिन्छ। भित्राउन तयार बालीहरू भिजेको गुनासो पनि सुनिरहेका छौँ। बाटो भासिने, पहिरो जाने जस्ता घटनाका कारण लामो तथा छोटो दूरीका यात्राहरू रद्द हुने भन्दै मौसम पूर्वानुमानप्रति धेरैले चासो देखाउनु भएको छ,” उनले भनिन्। के हो त वर्षाको कारण? पश्चिमी न्यून चापीय वायुका कारण वर्षा भइरहेको बताउँछिन् मौसमविद् कँडेल। हाल नेपालमै उत्पत्ति भएको स्थानीय वायु सक्रिय भए पनि वर्षाको लागि त्यति मात्र पर्याप्त थिएन। “वर्षा गराउन आवश्यक प्रणाली फरक दिशाबाट आउँछन्। पश्चिमी वायु भूमध्य सागरबाट अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको हो,” उनले भनिन्। कँडेलका अनुसार वर्षा हुन आवश्यक जलवाष्पयुक्त हावा अरब सागरबाट पनि नेपाल भित्रिएको छ। “अहिले धेरै वटा प्रणाली सक्रिय भएका कारण देशैभर हल्का भए पनि पानी परेको छ। अन्य प्रदेशसँगको तुलनामा मधेस प्रदेशमा चाहिँ वर्षा केही कम छ,” उनले जानकारी दिइन्। काठमाण्डूको वर्षा कति? नेपालमा अहिले परिरहेको पानी मनसुन पूर्व हुने वर्षा हो। काठमाण्डूमा मे महिनामा मात्र औसत १२३.६ मिलिमिटर वर्षा हुने गरेको मौसम विभागको तथ्याङ्क छ। यो साताको सुरुवातदेखि मङ्गलवारसम्ममा उपत्यकामा जम्मा ३ मिलिमिटर वर्षा भएको छ। “कुनै वर्ष यही समयमा पानी नपरी सुक्खा बित्न पनि सक्छ। औसत वर्षालाई आधार मान्ने हो भने चाहिँ अझै १२० मिलिमिटरभन्दा बढी पानी पर्न बाँकी छ,” कँडेलले भनिन्। कहिलेसम्म पर्छ? मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरजसो नै आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। “बुधवार बदली बढ्ने र वर्षा हुने देखिएको छ। बिहीवारदेखि चाहिँ केही घट्छ र पानी पनि कम हुने सम्भावना छ,” उनले भनिन्। यस्तो हुनसक्छ मौसम बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा र बाँकी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ। राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मात्र मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। बिहीवार दिउँसो र राति भने देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाको फाइदा के? पानी पर्नुअघि चर्किएको गर्मीलाई वर्षाले केही राहत दिलाएको जानकारहरू बताउँछन्।त्यस्तै काठमाण्डू उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो। एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्दा त्यस्तो खराब स्तर देखा परेको थियो। वर्षाले त्यो प्रदूषणको तह केही घटाएको बताउँछिन् मौसमविद् शान्ति कँडेल।वर्षाअघि देशभर डढेलोको समस्या पनि देखिएको थियो। गत वर्ष एप्रिल १ देखि १५ मा देशका विभिन्न ३३ स्थानमा डढेलो लागेको थियो भने यो वर्ष त्यही समयमा ४०० भन्दा बढी स्थानमा डढेलो लागेको तथ्याङ्कले देखाउँछ। “डढेलो लागेका कारण देशका विभिन्न भागमा तुवाँलोको तह देखिएको थियो त्यसलाई पनि पानीले कम गरेको छ,“ उनले भनिन्।(बीबीसी)