काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेर कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन् भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन् ।
जसपा नेपालले पनि सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ । मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । तर यादवले सरकारमा आफै जाने कि अरूलाई पठाउने भन्नेबारे अझै बताएका छैनन् ।
अघिल्लो बैठकबाट मन्त्री र मन्त्रालयको बारेमा सम्पूर्ण निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिइसकेको जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनले भने अध्यक्षले गर्ने निर्णय नै सर्वस्वीकार्य हुने छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई शक्तिशाली बनाउन जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै सरकारमा आउन प्रस्ताव गरेको स्रोतले जनाएको छ । जसपाका एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्डले हाम्रो अध्यक्षजीलाई नै सरकारमा आउन भन्नुभएको छ तर उहाँ जानु हुन्छ कि जानु हुन्न, त्यो उहाँले निर्णय गर्ने कुरा हो ।’
अध्यक्ष यादवले आफू सरकारमा जाँदा ठिक हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरिरहेका कारण पनि मन्त्री पठाउन ढिलो भएको हुन सक्ने उनको आँकलन छ ।