काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए। पछिल्लो समय उनको फोन स्विच अफ भएको छ।
प्रहरी उच्च स्रोतका अनुसार ‘उहाँ आफैं प्रहरीकोमा आउने कुरा थियो। तर बिहीबार साँझसम्म आउनुभएन,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘पक्राउ पुर्जी जारी भइसकेको सांसदजस्तो मान्छे सम्पर्कविहीन भएपछि उहाँ अब फरारको सूचीमा पर्नुभयो।’
प्रहरीले बिहीबारदेखि उनको खोजी गरिरहेको छ। रायमाझी फरार भए पनि यो प्रकरणक अनुसन्धान निरन्तर अघि बढ्ने प्रहरीको भनाइ छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र रायमाझी अर्घाखाँचीको कार्यक्रममा सँगै थिए। उनीहरू दुई जना सँगै बुटवलसम्म आएका थिए।
यसैबीच बिहीबार सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका थिए ।